१३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
रामेछाप : परीक्षामा पास गराइदिने प्रलोभन देखाएर १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।
यसरी पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्।
विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकले परीक्षामा पास गराइदिने भन्दै छात्रालाई ललाई–फकाई संवेदनशील अंगमा छुने तथा चिमोट्ने गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यस्तै फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाई पटक–पटक यौनजन्य गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भण्डारीलाई बुधबार पक्राउ गरिएको हो। उनलाई रामेछाप जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल राउतले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जानकारी दिए।
आरोप पुष्टि हुन भने अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
.gif)

.png)


