महिलाको गोप्य अंगमा अनुचित व्यवहार गर्ने क्लिनिक सञ्चालक पक्राउ
बाँके : बाँकेको कोहलपुरमा उपचारका लागि पुगेकी एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी महिलामाथि गोप्य अंगमा अनुचित व्यवहार गरेको आरोपमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो।
उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले सञ्चालक थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
घटनाबारे पीडित महिलाले करणीसम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कोहलपुर–११ का ६३ वर्षीय गणेशबहादुर थापालाई पक्राउ गरेको जनाएको छ। थापा उपचार गर्न इजाजत प्राप्त नभएका व्यक्ति तथा थापा पोलिक्लिनिकका सञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थापाले नेपाल मेडिकल काउन्सिलको आचारसंहिताविपरीत सीएमए प्रमाणपत्रका आधारमा उपचारमा संलग्न भएको विषयमा समेत अनुसन्धान भइरहेको छ।
पक्राउ परेका थापालाई बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
घटनासँग सम्बन्धित थप तथ्य तथा भिडियो सार्वजनिक गर्ने भनिएका अर्का व्यक्तिको भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

.gif)

.png)


