अधिकांश भूभागमा बदली, वर्षा र हिमपातको सम्भावना


२०८३ असोज १९ सोमबार ०७:३६ बजे
फाइल फोटो

काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज देशका विभिन्न भूभागमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। 

यस्तै, कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ। 

कोशी प्रदेशका थोरै तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। 

कर्णाली र सुदूरपश्चिमका हिमाली भूभाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ। 

कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

यस्तै, मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा भने आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।

त्यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७