पूर्वमा मौसम खुल्दै, पश्चिममा भारी वर्षाको जोखिम
काठमाडौंमा दिउँसो र राति पनि पानी पर्ने
काठमाडौं : नेपालमा प्रभाव पारिरहेको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै वर्षाको क्रम पनि बिस्तारै घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि मनसुनी वायुको प्रभाव कायमै रहेकाले शनिबार देशका केही भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले शनिबार बिहान ८ बजे अद्यावधिक गरेको मौसम बुलेटिनअनुसार भारतको उत्तर छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने क्रममा छ। उक्त प्रणाली आगामी १२ घण्टामा क्रमशः कमजोर हुँदै न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसको प्रभाव कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको मात्रा पनि क्रमशः घट्ने अनुमान गरिएको छ। महाशाखाका अनुसार नेपालमा अहिले मनसुनी वायुको प्रभाव यथावत् छ। साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ।
वर्षा प्रक्षेपण-
२०८३ असोज १० गते (शनिबार)
दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, साथै मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोसी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।मधेस प्रदेश तथा बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
राति : बागमती, गण्डकी, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने तथा कोसी र मधेश प्रदेशमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै तथा कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस प्रदेशकाको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
.jpg)
काठमाडौं उपत्यकामा शनिबार बिहान केही समय मौसम खुले पनि दिउँसो र राति पुनः वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् रोजन लामिछानेका अनुसार उपत्यकामा आज मध्यमसम्म वर्षा हुन सक्नेछ। उनका अनुसार आइतबार दिउँसोबाट भने मौसम क्रमशः सुधार हुँदै जाने सम्भावना छ।
.gif)

.png)


