भालुको पित्त र हात्तीको दाह्रासहित ३ जना पक्राउ
काठमाडौं : संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बिक्री गर्न लागेको आरोपमा प्रहरीले काठमाडौं र सिन्धुलीबाट तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौंको सोह्रखुट्टेबाट भालुको पित्त जस्तो देखिने आखेटोपहारसहित एक जना तथा सिन्धुलीबाट हात्तीको दाह्रा जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।
विशेष सूचनाका आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले असोज १८ गते काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टेबाट नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–१ सिसनिया घर भएका ३१ वर्षीय योगेन्द्रप्रसाद चौधरीलाई पक्राउ गरेको हो।
उनको साथबाट भालुको पित्त जस्तो देखिने एक थान आखेटोपहार बरामद भएको प्रहरीले जनाएको छ। तत्काल तौल गर्दा उक्त वस्तु १४० ग्राम रहेको थियो।
चौधरीलाई बरामद वस्तुसहित थप कानुनी कारबाहीका लागि असोज १९ गते डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाइएको छ।
त्यसैगरी असोज १९ गते सीआईबी लाजिम्पाटबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय भीमानसँगको समन्वयमा सिन्धुलीको कमलामाई नगरपालिका–१४, तल्लो रानीबासबाट दुई जनालाई पक्राउ गरेको हो।
यसरी पक्राउ पर्नेमा कमलामाई–१४ का ६० वर्षीय सोमबहादुर माझी भनिने पोरे माझी र महोत्तरीको बर्दिबास नगरपालिका–५ का ६० वर्षीय चित्रबहादुर विश्वकर्मा छन्।
उनीहरूको साथबाट हात्तीको दाह्रा जस्तो देखिने एक थान आखेटोपहार बरामद भएको छ। उक्त वस्तुको तत्काल तौल ६ किलो रहेको प्रहरीले जनाएको छ।
दुवै घटनामा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको सीआईबीले जनाएको छ। बरामद वस्तु वास्तविक रूपमा कुन वन्यजन्तुको हो भन्ने विषय भने सम्बन्धित निकायको परीक्षण तथा अनुसन्धानबाट खुल्नेछ।
.gif)

.png)


