कमरेड भन्छ, छुरा हान्छ, तर ढल्दिनँ : ओली

‘भीष्म पिताजति बूढो भएको छैन, ढल्दिनँ’


२०८३ असोज २५ आइतबार २०:५५ बजे

काठमाडौं :  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध चौतर्फी हमला भइरहेको बताएका छन् । पार्टीभित्रै आफूलाई नजिक ठान्ने व्यक्तिहरूबाट समेत धोका भएको संकेत गर्दै उनले जति प्रहार भए पनि आफू नढल्ने दाबी गरेका छन् । पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नै साथीको आवरणमा नजिक आउने व्यक्तिबाट छुरा प्रहार हुने गरेको टिप्पणी गरे ।

उनको अभिव्यक्ति पार्टीभित्रका असन्तुष्ट नेता तथा आफूविरुद्ध उभिएका व्यक्तिप्रति लक्षित थियो । ‘यसो हेर्‍यो आफ्नै साथी जस्तो लाग्छ । कमरेड भन्छ, नजिक आउँछ, कमरेड भन्छ, ग्याम्म छुरी हान्छ । यो पनि देखियो । कता जोगिने ? कता नजोगिने ?’ ओलीले भने ।

आफूमाथि विभिन्न कोणबाट प्रहार भइरहेको भए पनि त्यसले आफ्नो राजनीतिक यात्रामा अवरोध नपुर्‍याउने उनको भनाइ थियो । आफू कमजोर भएर पछि हट्ने अवस्थामा नरहेको उल्लेख गर्दै ओलीले भीष्म पितासँग तुलना गरेर आफ्नो अडान प्रस्तुत गरे । ‘मैले अस्ति भेलामा पनि भनेको थिएँ । भीष्म पिता जति म त्यति बूढो भएको छैन, ढल्दिनँ । जति हाने पनि ढल्दिनँ,’ उनले भने ।

५७ वर्षको राजनीतिक यात्राको स्मरण

ओलीले आफ्नो राजनीतिक यात्राको चर्चा गर्दै ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियान सुरु गरेको बताए । लामो राजनीतिक जीवनमा अनेक चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै उनले जेल जीवन र विभिन्न आरोप तथा मुद्दाहरूको सामना गरेको स्मरण गरे ।

उनका अनुसार राजनीतिक यात्राका क्रममा अनेक कठिनाइ आए पनि आफूले आफ्नो बाटो छाडेको छैन । देश र जनताका लागि राजनीति गरेको दाबी गर्दै उनले व्यक्तिगत स्वार्थका लागि काम नगरेको बताए ।

ओलीले आफूलाई मृत्युको चाहना नभएको र जीवन रहुन्जेल संघर्ष गरिरहने अभिव्यक्ति पनि दिए । राजनीतिक विरोध तथा चुनौतीका बीच आफ्नो अडान कायम राख्ने संकेत गर्दै उनले वैरीसामु नझुक्ने बताएका हुन् । ‘म चाहिँ मर्ने इच्छा गर्दिनँ । इच्छा मरण चाहिँदैन । बाँचुन्जेलसम्म वैरीसामु झुकिँदैन । लडिन्छ यो देशका लागि र मलाई चिन्ता छैन,’ ओलीले भने ।

‘मैले आफ्नो लागि काम गरेको होइन’

आफ्नो राजनीतिक जीवनलाई व्यक्तिगत लाभसँग जोडेर हेर्न नहुने तर्क गर्दै ओलीले देश र जनताको हितलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरे । आफ्नो जीवनको उद्देश्य व्यक्तिगत स्वार्थ नभई देश र जनताका लागि काम गर्नु रहेको उनको भनाइ थियो । ‘किनभने मैले मेरो लागि कामै गरेको होइन । सधैँ मैले देश र जनताका लागि काम गरेको छु,’ उनले भने ।

ओलीको यो अभिव्यक्ति पार्टीभित्रको असन्तुष्टि र आफूविरुद्ध भइरहेको भनिएको राजनीतिक प्रहारको सन्दर्भमा आएको हो । उनले आफ्ना विरोधीहरूको गतिविधिबारे विस्तृत विवरण भने सार्वजनिक अभिव्यक्तिमा खुलाएनन् ।

आफूविरुद्ध जति नै प्रहार भए पनि राजनीतिक रूपमा नढल्ने र देशका लागि संघर्ष जारी राख्ने सन्देश दिँदै ओलीले कार्यकर्तामाझ आफ्नो अडान दोहोर्‍याएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७