निर्मल पुर्जाको लोबुचे पोर्टर हाउस परियोजनालाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं : विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पना तथा नेतृत्वमा अघि बढाइएको ‘प्रोजेक्ट होराइजन–ए न्यू पोर्टर हाउस फर लोबुचे’ ले ‘नेसनल च्यारिटी टुडे अवार्ड्स’मा सामुदायिक प्रभाव विधातर्फ ‘हाइली कमेन्डेड अवार्ड’ प्राप्त गरेको छ।
नेपालको लोबुचेमा पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको भरिया आवास गृह परियोजनालाई हिमाली क्षेत्रमा काम गर्ने श्रमिकको जीवन सहज बनाउन पुर्याएको योगदानका आधारमा सम्मान गरिएको हो।
परियोजना सामुदायिक प्रभाव विधाको अन्तिम प्रतिस्पर्धीसमेत बनेको थियो। मुख्य अवार्ड जित्न नसके पनि यसले ‘हाइली कमेन्डेड’ सम्मान हासिल गरेको हो।
निम्सदाई फाउन्डेसनका संस्थापक निर्मल पुर्जा (निम्सदाई) को परिकल्पनामा अघि बढाइएको यस परियोजनाको मुख्य उद्देश्य हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका क्रममा काम गर्ने भरियाहरूलाई सुरक्षित आश्रय उपलब्ध गराउनु हो।
हिमाल आरोहण र पदयात्राका क्रममा भारी सामग्री, उपकरण तथा आवश्यक सामान बोकेर कठिन परिस्थितिमा काम गर्ने भरियाहरूको योगदान महत्त्वपूर्ण भए पनि उनीहरूले पर्याप्त सुविधा र सुरक्षित बासस्थान पाउन कठिन हुने गरेको छ।
यही समस्यालाई सम्बोधन गर्न लोबुचेमा पोर्टर हाउस निर्माण गरिएको हो। पाँच हजार मिटरभन्दा बढी उचाइमा रहेको यो आवास गृहले हिमाली क्षेत्रमा काम गर्ने श्रमिकलाई आश्रय दिन थालेको छ।
आगामी दिनमा यसले पर्वतीय क्षेत्रमा कार्यरत श्रमिक तथा स्थानीय समुदायलाई थप लाभ पुर्याउने अपेक्षा गरिएको छ।
फाउन्डेसनका अनुसार परियोजना सफल बनाउन स्थानीय कामदार, दक्ष इन्जिनियर, भरिया, समुदाय, दाता, साझेदार संस्था तथा व्यवसायीहरूको महत्त्वपूर्ण योगदान रहेको छ।
निर्माण सामग्री र उपकरण दुर्गम हिमाली क्षेत्रमा पुर्याउन भरियाहरूले कठिन परिस्थितिमा काम गरेका थिए।
स्थानीय समुदायले आफ्नो समय, ज्ञान र श्रममार्फत सहयोग गरेका थिए भने विभिन्न दाता तथा साझेदार संस्थाले परियोजना निर्माणमा साथ दिएका थिए।
परियोजनाले प्राप्त गरेको सम्मानलाई फाउन्डेसनले सामूहिक प्रयासको उपलब्धिका रूपमा लिएको छ।
यसले हिमाली क्षेत्रमा काम गर्ने श्रमिकको आवश्यकता सम्बोधन गर्न सहकार्य र सामुदायिक सहभागिताको महत्त्वसमेत उजागर गरेको छ।
फाउन्डेसनले यो उपलब्धिलाई निर्मल पुर्जाको दूरदर्शी सोच, हिमालसँगको गहिरो सम्बन्ध र पर्वतीय समुदायप्रतिको प्रतिबद्धताको परिणामका रूपमा व्याख्या गरेको छ।
सम्मानले परियोजनाको सामाजिक प्रभावलाई थप पहिचान दिलाएको जनाउँदै फाउन्डेसनले निम्सदाईको परिकल्पनाअनुसार आगामी दिनमा पनि समुदायमा सकारात्मक परिवर्तन ल्याउने कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
‘ठूलो सपना देख्ने, मिलेर काम गर्ने र वास्तविक परिवर्तन ल्याउने’ भावनासहित अघि बढाइएको परियोजनाले अवार्डमार्फत सम्मान पाउनुका साथै दुर्गम हिमाली क्षेत्रमा काम गर्ने श्रमिकको जीवनस्तर सुधार गर्न सामूहिक प्रयास कति महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ।
.gif)

.png)




