इनम सापकोटा प्रकरणमा प्राविधिक अनुसन्धान अघि बढाइयो
आर्थिक कारोबार र सम्पर्क सञ्जालमाथि छानबिन
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र कारागारमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्ध जोडिएपछि अनुसन्धानमा तानिएका इनम सापकोटामाथि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रकरणका विभिन्न पक्षको अनुसन्धान गर्न प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका दुई प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित अनुसन्धान अधिकृतहरूलाई समेटिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले बताएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले नियमित अनुसन्धान गरिरहेको भए पनि उपत्यका प्रहरी कार्यालयको समितिले प्राविधिक तथा आर्थिक पक्षसहित विभिन्न कोणबाट विस्तृत अनुसन्धान गर्ने उनले बताए।
आवश्यक परे सूचना प्रविधि विज्ञ र चार्टर्ड एकाउन्टेन्ट (सिए) को सहयोगसमेत लिइनेछ।
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएपछि उनको मोबाइल जाँच गर्दा सापकोटासँग सम्बन्धित विवरण फेला परेको प्रहरीले जनाएको छ।
व्यवसायी दीपक भट्टले सापकोटामार्फत जबरासँग कुराकानी गरेको विवरणसमेत भेटिएपछि प्रहरीले सापकोटामाथि निगरानी बढाएको थियो।
भारत जान लागेका बेला विमानस्थलबाट पक्राउ परेका सापकोटाको साथबाट १ हजार ४०० अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ।
सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएकोमा थप प्रमाण भेटिएपछि राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान विस्तार गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताए।
अहिले सापकोटासँग सोधपुछ र प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ।
सापकोटामार्फत जबराले विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने र अदालतबाट अनुकूल निर्णय गराउन सेटिङ मिलाउने गरेको आरोपबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
व्यवसायी भट्टलाई रिहा गराउने, नेपाली कांग्रेसको आधिकारिकता शेरबहादुर देउवा समूहलाई दिलाउने तथा त्यसका लागि सर्वोच्च अदालतबाट अनुकूल निर्णय गराउने प्रयास भएको आरोपसमेत अनुसन्धानको दायरामा रहेको प्रहरीको दाबी छ।
अनुसन्धानका क्रममा देउवा समूहका केही नेताहरूसँग सापकोटाले कुराकानी गरेको विवरण फेला परेको पनि प्रहरीले जनाएको छ।
यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन। जबरानिकट केही पूर्वन्यायाधीश तथा अन्य व्यक्तिहरूसँगको सम्पर्कबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
प्रहरीले सापकोटाको विदेशमा सम्पत्ति रहेको, दुबईमा अपार्टमेन्ट लिएको, अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेको र सिंगापुरमा कम्पनी रहेको भन्ने विषयमा पनि सोधपुछ गरेको छ।
सापकोटाले विदेशमा आफ्नो सम्पत्ति नरहेको र ग्रिनकार्ड तथा सिंगापुरको कम्पनीसम्बन्धी कुरा हल्ला मात्रै भएको भन्दै अस्वीकार गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन्। प्रहरीले सम्बन्धित निकायबाट कागजात मगाएर यी विषयको परीक्षण गर्ने जनाएको छ।
त्यस्तै, सापकोटासँग दोहोरो पासपोर्ट रहेको आशंकामा अध्यागमन विभागबाट उनको विदेश यात्राको विवरण मगाएर अध्ययन गरिएको छ। उक्त विवरणमा उनी भारत र जर्मनी गएको देखिएको प्रहरीले जनाएको छ।
विदेश आवतजावतको विवरणका आधारमा अर्को पासपोर्ट भए–नभएकोबारे पनि अनुसन्धान भइरहेको छ। यस प्रकरणमा प्रहरीका विभिन्न युनिटसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ।
विभागले जबरानिकट व्यक्तिहरूका घरमा छापा मारेर प्रमाण संकलन गरेको थियो। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार विभागले यस प्रकरणका लागि छुट्टै टोलीसमेत परिचालन गरेको छ।
यसैबीच, सापकोटासँग सम्बन्ध जोडिएको भन्दै व्यवसायी दीपक भट्टलाई नक्खु कारागारबाट सिन्धुपाल्चोक कारागार सरुवा गरिएको छ।
त्यस्तै, सापकोटासँगको सम्पर्क र सुरक्षा संवेदनशील सूचना चुहाएको आरोपपछि सशस्त्र प्रहरी बलका एआईजी वंशी राज दाहाललाई सरकारले बर्खास्त गरेको छ।
दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले तीन दिनमै अनुसन्धान सकेर गैरव्यावसायिक गतिविधि देखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदन बुझाएको भोलिपल्टै गृहमन्त्री सुधन गुरुङले उनलाई बर्खास्त गरेका थिए।
प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप प्रमाण संकलन गरिरहेका छन्। अनुसन्धानबाट प्रकरणमा जोडिएका व्यक्तिहरूको भूमिका र सम्भावित आर्थिक सम्बन्धबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
.gif)

.png)



