इनम सापकोटा प्रकरणमा एमालेको प्रश्न : अनुसन्धान किन रहस्यमयी ?
काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बिचौलिया भनिएका इनम सापकोटामाथि भइरहेको अनुसन्धानको प्रक्रियामाथि प्रश्न उठाएका छन् ।
उनले सरकारले सापकोटालाई नियन्त्रणमा लिए पनि अनुसन्धान प्रक्रिया रहस्यमयी र अपारदर्शी देखिएको टिप्पणी गरेका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले इनम सापकोटा प्रधानमन्त्री बालेन शाहको राजनीतिक तथा चुनावी अभियानदेखि सरकार सञ्चालनको आन्तरिक टोलीसम्म जोडिएको चर्चा बाहिर आएको बताए ।
प्रधानमन्त्रीलाई झापाबाट उम्मेदवार बनाउँदा उपयुक्त हुने वा नहुने विषयमा गरिएको सर्वेक्षणदेखि चुनावी अभियानसम्म सापकोटाको संलग्नता रहेको विश्लेषण सार्वजनिक भएको उनले बताए ।
पोखरेलले प्रधानमन्त्री बनेपछि सरकारलाई सफल बनाउने विषयमा तयार गरिएको कोर टिममा समेत सापकोटा रहेको भन्ने कुरा बाहिर आएको उल्लेख गरे ।
उनले प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी नियन्त्रणमा लिएको मोबाइल दुई–तीन दिनसम्म आफूसँग राखेको विषयसमेत सार्वजनिक भएको भन्दै अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाए ।
‘अहिले यही सरकारले इनम सापकोटालाई नियन्त्रणमा ल्याएको छ,’ पोखरेलले भने, ‘तर पनि अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन ।’
उनले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति समेत चर्को आलोचना गरेका छन् ।
.gif)

.png)




