हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौं : देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
तराईका केही स्थानमा राति बिहानपख हुस्सु वा कुहिरोसमेत लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार दिउँसो हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
दिउँसो हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै, अन्य पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
शुक्रबार राति पनि हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने भएकाले जनजीवनमा सामान्य प्रभाव पर्न सक्नेछ।
रातिको समयमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
.gif)

.png)



