आशिका तामाङको आक्रोश, ‘पाठो छतमा बाँध्नेलाई कसरी मानूँ आदर्श ?’
काठमाडौं : सांसद आशिका तामाङले माइक्रोबसको छतमा पाठो बाँधेर पोखरा लैजाने सहचालकको प्रशंसा गरिएको भन्दै आलोचना गरेकी छन्।
पशुप्रति गरिने व्यवहार नै व्यक्तिको करुणा र संवेदनशीलताको परिचायक हुने उनको भनाइ छ।
सामाजिक सञ्जालमा लेख्दै तामाङले भनेकी छन्, ‘यी भाइ तपाईंको आदर्श हुन सक्छन्, तर मेरो लागि कदापि हुने छैनन्।’ मिठा कुरा गरेर भीडको प्रशंसा बटुल्नुभन्दा खस्रो बोले पनि सत्यको बाटो नछाड्ने व्यक्ति उचित हुने उनले उल्लेख गरेकी छन्।
गत साता माइक्रोबसको छतमा बिरामी पाठो बाँधेर पोखरा लैजान लागिएको देखेपछि तामाङले सहचालकलाई त्यसरी पशु नलैजान आग्रह गरेकी थिइन्।
उनले पाठोलाई छतबाट झारेर गाडीभित्र सुरक्षित स्थानमा राख्न सुझाव दिएकी थिइन्।
पाठोलाई चिसो र असहजताका बीच छतमा बाँधेर लैजाँदा थप पीडा हुने भन्दै उनले सहचालकलाई सचेत गराएकी थिइन्।
‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ,’ भन्दै उनले पैसाका लागि पशुलाई दुःख नदिन आग्रह गरेकी थिइन्। आवश्यक परे आफूले पैसा दिने तर पशुप्रति यस्तो व्यवहार नगर्नसमेत उनले बताएकी थिइन्।
तामाङले मानिस धनी वा गरिब जे भए पनि अन्य प्राणीप्रतिको दृष्टिकोण, भावना र करुणा महत्त्वपूर्ण हुने बताएकी छन्।
नयाँ सरकार, नयाँ सांसद र नयाँ नेतृत्व आए पनि नागरिकको व्यवहार परिवर्तन हुनुपर्ने उनको भनाइ छ।
‘यत्रो नयाँ सरकार आएको छ, नयाँ सांसदहरू छन्, नयाँ नेता छन्। अनि हामी जनता चाहिँ कहिले परिवर्तन हुने ?’ उनले प्रश्न गरेकी छन्।
.gif)

.png)



