सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी
सुनुवाइ समितिले अध्ययन गर्दै
काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया उजुरीको चरणमा प्रवेश गरेको छ । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा आठवटा उजुरी परेका छन् ।
गत कात्तिक ९ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिमा गत शुक्रबारसम्म आठवटा उजुरी दर्ता भएका हुन् ।
उजुरी दिने समयसीमा कात्तिक १९ गतेसम्म तोकिएको छ। त्यसैले निर्धारित समयभित्र उजुरीको संख्या थप बढ्न सक्नेछ ।
गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश हुन् भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् । डाँगी यसअघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत थिए ।
प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी अध्ययन गरेपछि संसदीय सुनुवाइ समितिले चारै जनासँग उनीहरूको कार्ययोजनाबारे सुनुवाइ गर्नेछ ।
समितिबाट अनुमोदन भएपछि मात्रै प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।
.gif)

.png)




