शक्तिको दम्भ नदेखाउनू, जनमतको दुरुपयोग नगर्नू : रवि लामिछाने
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्तालाई शक्तिको दम्भ नदेखाउन र जनताले दिएको अभिमतको दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।
शुक्रबार चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले शक्ति हातमा आएको भन्दै जनता र तल्लो तहका कार्यकर्तामाथि हेपाहा व्यवहार नगर्न निर्देशन दिएका हुन् ।
‘आज हामी ठूला पार्टी भयौँ, हाम्रा हातमा प्रहरी छन्, हाम्रा हातमा सीडीओ छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ उनले भने, ‘जनताले दिएको यो अभिमत जनताकै हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला। पार्टीले यी सबै कुरा नियालिरहेको छ ।’
शक्ति जति बढ्छ, जिम्मेवारी पनि त्यति नै बढ्ने भन्दै उनले नेता–कार्यकर्तालाई आफ्ना अभिव्यक्ति र व्यवहारमा संयमित हुन आग्रह गरे । लामिछानेले पार्टीभित्र सांसद बनेका र सँगै संघर्ष गरेका अन्य नेता–कार्यकर्ताबीच बढ्दै गएको दूरीप्रति पनि चिन्ता व्यक्त गरे ।
सांसद बनेकाहरूले तल्लो तहका कार्यकर्तालाई बेवास्ता गर्ने र पद नपाएकाहरूले सांसद बनेका साथीप्रति ईर्ष्या गर्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो ।
‘सँगै संघर्ष गरेको साथी आज सांसद भएको छ भने भोलि तपाईंको पालो हो,’ उनले भने, ‘साथीले प्रगति गर्यो भन्दैमा आरिस गर्ने र सँगै भएको साथी तल पर्यो भनेर खिचातानी गर्ने दुवै प्रवृत्ति गलत छन्। यसलाई सच्याएर हामी एकै ठाउँ उभिनुपर्छ ।’
आसन्न निर्वाचनलाई लक्षित गर्दै लामिछानेले पार्टीका कार्यकर्तामा माथिल्लो पदप्रतिको महत्त्वाकाङ्क्षा बढेको भन्दै व्यङ्ग्यसमेत गरे । स्थानीय तहमा उम्मेदवार बन्नुभन्दा सबैको ध्यान माथिल्लो पदमा केन्द्रित भएको उनको टिप्पणी थियो ।
‘हाम्रा साथीहरू वडाध्यक्ष हेर्दैनन्, एकैचोटि सभापति, पालिका र माथि हेर्छन् । यहाँ कसैलाई वडाध्यक्ष हुन मन छैन,’ उनले भने, ‘अब यो वडामा चुनाव लड्न म आफैँ राजीनामा दिएर आउनुपर्ला जस्तो छ । तपाईंहरू त अब धेरै ठूला हुन थाल्नुभयो ।’
.gif)

.png)




