डलर साट्ने बहानामा लुटपाट : पक्राउ गर्न खोज्दा प्रहरीमाथि चक्कु प्रहार


२०८३ कार्तिक २० शुक्रबार १६:५४ बजे

काठमाडौं : सस्तो दरमा अमेरिकी डलर साटिदिने भन्दै ठगी र लुटपाट गर्दै आएका सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय तामाङलाई प्रहरीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३, गाम्चाबाट पक्राउ गरेको हो । 

उनीविरुद्ध यसअघि नै आठवटा ठगीका मुद्दा चलिसकेको प्रहरीको अभिलेखमा देखिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोली उनलाई पक्राउ गर्न पुग्दा तामाङले प्रहरीमाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताए । 

चक्कु प्रहारबाट एक प्रहरी घाइते भएका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

‘पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि एक राउन्ड हवाई फायर र एक राउन्ड घुँडामुनि गोली हानेर सुजनलाई पक्राउ गरिएको हो,’ एसएसपी घिमिरेले भने ।

प्रहरीका अनुसार तामाङले अमेरिकी डलर सस्तो दरमा साटिदिने भन्दै कागजको बिटो देखाएर ठगी गर्ने गरेका थिए ।

पछिल्लो पटक २२ असोज २०८३ मा विभिन्न व्यक्तिलाई फोन गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने भन्दै उनले विश्वास दिलाएका थिए ।

त्यसपछि ५० अमेरिकी डलरको नोट देखाएर साट्ने प्रस्ताव गरेका उनले २३ असोजमा गोकर्णेश्वरस्थित लसुनटारमा बोलाएर दुई जनाबाट आठ–आठ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार तामाङले समूह बनाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डलर साट्ने बहानामा ठगी गर्दै आएका थिए । उनको आपराधिक अभिलेख प्रणाली (सीआरएस) जाँच गर्दा विभिन्न प्रहरी कार्यालयमा उनीविरुद्ध आठवटा ठगीका मुद्दा दर्ता भएको पाइएको छ ।

प्रहरी अभिलेखअनुसार १५ मंसिर २०८० र २३ फागुन २०८० मा प्रहरी वृत्त स्वयम्भूबाट उनीविरुद्ध ठगीका मुद्दा चलेका थिए ।

त्यस्तै, ८ साउन २०८१ मा जिल्ला प्रहरी परिसर भक्तपुर, १ कात्तिक २०८१ मा स्वयम्भू, १६ मंसिर २०८२ मा इलाका प्रहरी कार्यालय बाह्रबिसे, २८ मंसिर २०८२ मा प्रहरी वृत्त महाराजगञ्ज, १ पुस २०८२ मा प्रहरी वृत्त बौद्ध र ८ चैत २०८२ मा प्रहरी वृत्त सातदोबाटोबाट उनीविरुद्ध ठगीका मुद्दा चलेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय उनी स्वयम्भू, बूढानीलकण्ठ र साँखु क्षेत्रमा सुन भन्दै नक्कली सुन देखाएर ठगी गर्ने काममा समेत संलग्न रहेको प्रहरीको दाबी छ । विगतका केही घटनामा भेटिएको हुलियासँग उनको हुलिया मिलेकाले अन्य घटनामा पनि संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

तामाङको ठगी गर्ने शैली पनि योजनाबद्ध देखिएको प्रहरीको भनाइ छ । उनको मोबाइल जाँच गर्दा विभिन्न होटल, रेस्टुरेन्ट, गरगहना पसल, हार्डवेयर, मेडिकल र होलसेल पसलका तस्बिर तथा फोन नम्बर भेटिएका छन् ।

प्रहरीका अनुसार उनले ती पसल तथा होटलका बाहिर राखिएका सूचना पाटीमा उल्लेखित नम्बर खिचेर लैजाने र फोन गरी आफू त्यहाँ बस्ने गरेको वा सामान खरिद गर्ने गरेको बताउँदै विश्वास जित्ने गरेका थिए ।

त्यसपछि सस्तो दरमा डलर साटिदिने प्रलोभन देखाएर एकान्त स्थानमा बोलाउने र रकम लुटेर फरार हुने गरेको प्रहरीको भनाइ छ ।

पीडितलाई विश्वास दिलाउन उनले आफ्नो समूहका एक सदस्यलाई बोल्न नसक्ने व्यक्तिको अभिनय गर्न लगाउने गरेकोसमेत प्रहरीले जनाएको छ ।

डलर बोकेको देखाइने उक्त व्यक्तिमार्फत कारोबारको विश्वास दिलाएपछि बाहिर डलरका नोट र भित्र कागजको बिटो राखिएको पोको दिएर रकम लिने गरेको प्रहरीको दाबी छ ।

ठगीपछि मोटरसाइकलमा फरार हुने, नम्बर प्लेट र सिमकार्ड परिवर्तन गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७