रास्वपाको सातबुँदे निर्देशन : निर्वाचनमा भोजभतेरदेखि चरित्रहत्या गर्न निषेध
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकाङ्क्षीलाई लक्षित गर्दै सातबुँदे निर्देशन जारी गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले आन्तरिक लोकतन्त्रको विश्वसनीयता विधिको पालना, निष्पक्ष प्रक्रिया र संस्थागत जवाफदेहिताबाट स्थापित हुने भन्दै निर्देशन जारी गरेका हुन् ।
निर्देशनमा पार्टीका सबै तहका नेतृत्व, सदस्य तथा उम्मेदवारका आकाङ्क्षीलाई पार्टी विधान, स्थापित कार्यविधि र आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ । निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाउन पनि समितिले निर्देशन दिएको छ ।
निर्वाचन प्रभावित पार्ने उद्देश्यले आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रामक प्रचार, चरित्रहत्या तथा पद र शक्तिको दुरुपयोग गर्न निषेध गरिएको छ ।
त्यस्तै, आचारसंहिता र आधिकारिक निर्देशनविपरीत सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सामग्री प्रकाशित तथा साझा नगर्न भनिएको छ ।
निर्देशनविपरीत प्रकाशित वा साझा गरिएका सामग्री तत्काल हटाउन पनि समितिले आग्रह गरेको छ ।
पार्टीको निर्देशन, विधान तथा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिलाई उल्लङ्घनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेज गर्ने, निर्वाचन प्रक्रियाबाट निष्कासन गर्ने, जिम्मेवारीबाट हटाउने तथा विधानबमोजिम निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्ने चेतावनी दिइएको छ ।
त्यस्तै, निर्वाचन, अधिवेशन, उम्मेदवार छनोट तथा सङ्गठनात्मक प्रक्रियासँग सम्बन्धित आन्तरिक दस्ताबेज, निर्णय, छलफल, प्रचार सामग्री, अभिलेख र व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न निर्देशन दिइएको छ ।
आधिकारिक स्वीकृतिबिना यस्ता सूचना सार्वजनिक गर्ने, अनधिकृत व्यक्ति वा निकायसँग साझा गर्ने वा दुरुपयोग गर्ने कार्य निषेध गरिएको छ ।
पार्टीभित्रको लोकतन्त्र र संस्थागत मर्यादा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै समितिले पद, पहुँच वा प्रभावका आधारमा कसैले पनि विधिभन्दा माथि रहने छुट नपाउने स्पष्ट पारेको छ ।
यस्तो छ निर्देशनः


.gif)

.png)




