युवालाई उद्यम गर्न आठ अर्बको सहुलियत ऋण ल्याउँदै कोशी सरकार


२०८३ कार्तिक २१ शनिबार १६:३३ बजे

सङ्खुवासभा । कोशी प्रदेश सरकारले युवालाई स्वदेशमै उद्यमशील बनाउन तथा रोजगारी सिर्जना गर्न आठ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण कार्यक्रम अघि सारेको छ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार भेटघाटमा चालु आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार प्रदेशमै बसेर उद्यम तथा व्यवसाय गर्न चाहने युवालाई लक्षित गरी तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने कार्यक्रम ल्याइएको हो। विशेषगरी साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई यसबाट सहयोग पुग्ने सरकारको अपेक्षा छ।

मुख्यमन्त्री कार्कीले युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्दै आफ्नै प्रदेशमा उद्यम र रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताए। उत्पादन वृद्धि, रोजगारी सिर्जना र युवाको उद्यमशीलता प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो।

‘हामीले चालु आर्थिक वर्षका लागि बजेट ल्याएका छौँ। नीतिगत रूपमा पनि बजेटमार्फत धेरै महत्त्वपूर्ण कार्यक्रम र योजना अघि सारेका छौँ,’ उनले भने।

मुख्यमन्त्री कार्कीले प्रदेशको विकास बजेटको सीमा र स्रोतसाधनको सीमितताका कारण अपेक्षाअनुसार विकास निर्माणका काम गर्न कठिनाइ भइरहेको पनि बताए।

विगतका वर्षमा सडक सञ्जाल विस्तार र पूर्वाधार निर्माणका आधार तयार गरिएको उल्लेख गर्दै उनले अब उत्पादन, रोजगारी र आर्थिक समृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताए।

प्रदेशमा नीतिगत सुधार र सुशासन कायम गर्ने कामलाई पनि सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो। विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राखेर आगामी दिनमा प्रदेश सरकारका कार्यक्रम अघि बढाइने उनले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७