घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
सडक एकतर्फी सञ्चालनमा रहँदा सवारीसाधनलाई आलोपालो गरी पठाइएको थियो ।
नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार करिब ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो ।
उक्त स्थानमा भित्तो काटिएको नभई माथिबाट आफैँ पहिरो खसेको उनले बताए । कमजोर भूगर्भीय अवस्थाका कारण जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम भने कायमै रहेको मिश्रले जानकारी दिए ।
.gif)

.png)




