२४ घण्टामा २७२ विपद्का घटना, पहिरोमा २१ जनाको मृत्यु


२०८३ असोज १३ मंगलबार ०९:१८ बजे

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा विपद्का घटना तीव्र रूपमा बढ्दा २१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्। विभिन्न घटनामा २६ जना घाइते भएका छन्।

असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म देशभर २७२ वटा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

प्राधिकरणको विवरणअनुसार सबैभन्दा बढी पहिरोका ९७ घटना भएका छन्। पहिरोमा परी २१ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन्।

यस अवधिमा अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार तथा हिमपातको एउटा घटना भएका छन्।

बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको छ। त्यस्तै, अविरल वर्षाका कारण प्रभावित ७०० जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

विपद्का कारण देशभर ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ। घटनाबाट करिब १ करोड ९१ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ।

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख विपद्का रूपमा देखिएका छन्। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट खोज, उद्धार र राहतको काम जारी रहेको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७