वर्षाले खोस्यो नेपालको एसियन गेम्स यात्रा
श्रीलंका सेमिफाइनलमा
काठमाडौं : जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटमा नेपालको यात्रा क्वाटरफाइनलमै टुंगिएको छ।
नेपाल र श्रीलंकाबीच मंगलबार बिहान निर्धारित क्वाटरफाइनल खेल लगातार वर्षाका कारण रद्द भएपछि उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको हो।
निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा खेलका लागि आवश्यक अवस्था बन्न नसकेपछि टससमेत हुन पाएन। प्रतियोगिताको नियमअनुसार क्वाटरफाइनल खेल नतिजाविहीन भएमा उच्च वरीयता प्राप्त टोली सेमिफाइनल पुग्ने प्रावधान रहेकाले श्रीलंकाले अन्तिम चारमा स्थान बनाएको हो।
नेपालले समूह चरणमा भने राम्रो प्रदर्शन गरेको थियो। अफगानिस्तानलाई पराजित गर्दै नेपालले समूह चरणमा महत्त्वपूर्ण जित निकालेको थियो। जापानसँगको खेल वर्षाका कारण पूरा हुन नसके पनि अंक बाँडिएपछि नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको थियो।
तर नकआउट चरणमा समेत वर्षा बाधक बनेपछि नेपालले श्रीलंकाविरुद्ध मैदानमै उत्रिएर प्रतिस्पर्धा गर्ने अवसर पाएन। यससँगै एसियन गेम्समा नेपालको पुरुष क्रिकेट टोलीको पदक जित्ने सम्भावना समाप्त भएको छ।
नेपाल यसअघि २०१०, २०१४ र २०२२ का एसियन गेम्समा पनि क्वाटरफाइनलबाटै बाहिरिएको थियो। यसपटक पनि अन्तिम आठभन्दा माथि पुग्ने नेपालको प्रयास वर्षाका कारण रोकिएको हो।
यसअघि लगातार वर्षाका कारण हङकङ–पाकिस्तान तथा भारत–अफगानिस्तानबीचका क्वाटरफाइनल पनि रद्द भएका थिए। दुवै खेलमा उच्च वरीयताका आधारमा पाकिस्तान र भारत सेमिफाइनल पुगेका छन्।
अब प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेलको विजेताले सेमिफाइनलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने श्रीलंकाले भारतको सामना गर्नेछ।
.gif)

.png)


