चट्टान नभेटिँदा थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्ट गर्न सकिएन
उपकरणबाट नदी खोतलिँदै
मनाङ : अविरल वर्षापछि थुनिएको मर्स्याङ्दी नदीको बहाव खुलाउन ब्लास्ट गर्ने प्रयास तत्कालका लागि रोकिएको छ।
ब्लास्टका लागि पोखराबाट पुगेको नेपाली सेनाको प्राविधिक टोलीले उपयुक्त स्थान पहिचान गर्न नसकेपछि अहिले उपकरण प्रयोग गरेर नदी थुनिएको भाग खोतल्ने काम भइरहेको छ।
सेनाको प्राविधिक टोली चामे पुगे पनि ब्लास्टका लागि आवश्यक ठूलो चट्टान आसपासमा फेला नपरेपछि योजना अघि बढ्न नसकेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘नदी थुनिएको आसपासमा ठूलो चट्टान भेटिएन। गिट्टी, बालुवा, रुख, माटो र लेदोले थुनिएकाले ब्लास्ट गर्ने उपयुक्त ठाउँ फेला परेन,’ पौडेलले बताए।
ब्लास्टबाट नदी खोल्ने सम्भावना तत्काल नदेखिएपछि दुई वटा उपकरण प्रयोग गरी थुनिएको भाग खोतल्ने काम भइरहेको उनले जानकारी दिए।
अविरल वर्षापछि स्थानीय घट्टेखोलाबाट आएको लेदोसहितको ढुंगा, गिट्टी र बालुवा थुप्रिएपछि चामे क्षेत्रमा मर्स्याङ्दी नदीको बहाव रोकिएको हो। अहिले थुनिएको भागबाट आंशिक रूपमा पानी बग्न थाले पनि नदी थुनिएर बनेको ताल अझै ठूलो छ।
उक्त ताल करिब ४ सय मिटर लामो र ८० मिटर चौडा छ। तालको गहिराइ करिब २० फिटसम्म रहेको अनुमान गरिएको पौडेलले बताए।
चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जालसमेत अवरुद्ध छन्। नदीको बहाव पूर्ण रूपमा खुलाउन सुरक्षाकर्मी तथा प्राविधिक टोलीले काम जारी राखेको छ।
.gif)

.png)


