भन्सार छलेर ल्याइएको २८ लाखका भारतीय फूल खाल्डो खनेर पुरियो
काठमाडौं : सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका करिब २८ लाख २७ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका फूल बरामद गरी नष्ट गरेको छ ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट गैरकानुनी रूपमा ल्याइएका सयपत्री, कमल र रजनिगन्धाका फूल झापा र धनुषाका विभिन्न सीमावर्ती क्षेत्रबाट बरामद गरिएको हो ।
सशस्त्र प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका–८ स्थित देवीबस्तीबाट सबैभन्दा बढी फूल बरामद गरिएको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायव निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको नौ सदस्यीय टोलीले २२ लाख ६८ हजार ४०० रुपैयाँ बराबरका ११ हजार ३४२ थान भारतीय सयपत्री माला बरामद गरेको हो ।
त्यस्तै, सोही स्थानबाट २ लाख ९५ हजार रुपैयाँ बराबरका १२ झोला कमलका फूलसमेत बरामद गरिएको थियो ।
झापामा बरामद भएका २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका फूल जनप्रतिनिधिको उपस्थितिमा सशस्त्र प्रहरी गण परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको छ ।
.jpg)
यसैगरी धनुषाका विभिन्न स्थानबाट पनि भारतबाट अवैध रूपमा ल्याइएका फूल बरामद गरिएको छ ।
बिओपी देवडिहाको गस्ती टोलीलाई देखेपछि दुईवटा मोटरसाइकलमा फूल ल्याउँदै गरेका तस्करहरू सामान छाडेर फरार भएका थिए ।
त्यहाँबाट ९१ हजार रुपैयाँ बराबरका १३० केजी सयपत्री र ३३ हजार रुपैयाँ बराबरका ३० केजी रजनिगन्धा गरी कुल १ लाख २४ हजार रुपैयाँ बराबरका फूल बरामद गरिएको थियो ।
उक्त फूल स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र पत्रकारहरूको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै, कात्तिक २२ गते बिहान बिओपी फुलगामाको टोलीलाई देखेपछि तस्करहरूले टाउकोमा बोकेर ल्याउँदै गरेको १ लाख ४० हजार रुपैयाँ बराबरका २०० केजी सयपत्री फूल सीमाक्षेत्रमै छाडेर फरार भएका थिए ।
उक्त फूल पनि स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, जटही भन्सार कार्यालयका प्रतिनिधि र स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरिएको थियो ।
नेपाली किसानले उत्पादन गरेका फूलको प्रवर्द्धन र अवैध आयात नियन्त्रण गर्ने उद्देश्यले सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।
.gif)

.png)




