पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा लडाकुहरूले प्रहरीका सवारीसाधनलाई लक्षित गरी गरेको आक्रमणमा कम्तीमा १० जना प्रहरीको मृत्यु भएको छ।
बुधबार अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको कोहात जिल्लामा उक्त आक्रमण भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
स्थानीय प्रहरी अधिकारी फैसल खानका अनुसार आक्रमणपछि सुरक्षा बल र लडाकुबीच गोली हानाहान भएको थियो। मृतक प्रहरीमध्ये दुई जना वरिष्ठ अधिकृत रहेको उनले जानकारी दिए। घटनास्थलमा सुरक्षा बल र आक्रमणकारीबीचको मुठभेड जारी रहेको पनि उनले बताए।
घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ। आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन। यद्यपि, घटनामा प्रतिबन्धित सशस्त्र समूह ‘तहरिक–ए–तालिबान पाकिस्तान’ ९टीटीपी० को संलग्नता रहेको आशङ्का गरिएको छ।
पाकिस्तानमा पछिल्ला वर्षहरूमा हिंसात्मक आक्रमणका घटना बढ्दै गएका छन्। विशेषगरी उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा निकायलाई लक्षित गरी आक्रमण हुने क्रम तीव्र बनेको छ।
पाकिस्तानले टीटीपीलाई देशमा हुने अधिकांश हिंसात्मक घटनाका लागि जिम्मेवार ठहर्याउँदै आएको छ। उक्त समूह अफगान तालिबानभन्दा अलग भए पनि उनीहरूसँग निकट सम्बन्ध रहेको बताइन्छ।
पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि टीटीपीका लडाकुलाई आफ्नो भूमिमा आश्रय दिएको आरोप लगाउँदै आएको छ। तर काबुलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।
.gif)

.png)




