सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगरको जित

पोखरा प्लेअफ होडबाट बाहिरियो


२०८३ कार्तिक २६ बिहीबार १६:३७ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

यो जितसँगै ६ खेलबाट ६ अंक जोडेको विराटनगर चौथो स्थानमा उक्लिएको छ । टोलीको प्लेअफ सम्भावना कायमै छ । विराटनगरले लिग चरणको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ ।

अर्कोतर्फ, छैटौँ खेलमा पाँचौँ हार बेहोरेको पोखरा दुई अंकसहित तालिकाको पुछारमा छ । यो हारसँगै पोखरा प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए । ३९ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे । ओपनर लोकेश बमले २७ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन जोडे ।

त्यस्तै, इसुरु उडानाले १२ बलमा चार चौका र एक छक्कासहित अविजित २५ रन बनाए । उनले नै विजयी चौका प्रहार गरेका थिए । शेहान जयासूर्याले १४ बलमा दुई चौकासहित अविजित १७ रनको योगदान दिए ।

विराटनगरका इमरान शेखले १० र एन्जेलो म्याथ्युजले आठ रन बनाए । चरिथ असलंका र प्रतिश जिसीले भने खाता खोल्न सकेनन् । पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले दुई–दुई तथा बिपिन खत्री र धनन्जय लक्षणले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो । पोखराका ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै ८४ रन बनाए पनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् ।

सम्राले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । धनन्जय लक्षणले १५ बलमा एक चौका र एक छक्कासहित २२ तथा सन्नी विकले ११ बलमा एक छक्काको मद्दतमा १२ रन बनाए । यी तीन खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

७६ रनमा पाँच विकेट गुमाइसकेको अवस्थामा सम्रा र धनन्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । अर्जुन कुमाल एक, अर्जुन घर्ती पाँच र बिपिन खत्री पाँच रनमा आउट भए ।

कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खाता खोल्न सकेनन् । सागर ढकाल एक रनमा अविजित रहे ।

पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए ।

यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए ।

प्रतियोगिताका अघिल्ला पाँच खेलमा एक विकेट मात्र लिएका सन्दीपले पोखराविरुद्ध एकै खेलमा ६ विकेट लिए । उनी एनपीएलमा एउटै खेलमा ६ विकेट लिने तेस्रो खेलाडीसमेत बनेका छन् ।

यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए । विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट लिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७