नहाय–खाय विधिबाट आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
काठमाडौं : दीपावली सकिएसँगै मिथिलाञ्चलका गाउँबस्ती र बजारमा छठ पर्वको रौनक छाएको छ ।
आजदेखि सुरु भएको चारदिने छठ पर्वका लागि स्थानीयवासी नदी, पोखरी तथा जलाशयका किनारमा घाट निर्माण र सरसफाइमा जुटेका छन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ विधि गर्दैछन् ।
दोस्रो दिन ‘खरना’ गरिन्छ भने तेस्रो दिन अस्ताउँदो र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर पर्व समापन गरिन्छ ।
पर्वको तयारीसँगै मिथिला क्षेत्रका घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवीको महिमा गाइने गीतले गाउँबस्तीको वातावरण छठमय बनेको छ ।
स्थानीयवासीले बाँसका भाटा र झिक्रा प्रयोग गरी छठघाट निर्माण तथा सजावट गरिरहेका छन् ।
घरका भित्ता लिपपोत र रङरोगन गर्ने, सडक तथा सार्वजनिक स्थलमा बत्ती जडान गर्ने काम पनि तीव्र भएको छ । घाट निर्माण र सरसफाइमा विशेषगरी युवाहरू सक्रिय छन् ।
आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठमा जातीय तथा सामुदायिक विभेद नगरी सबै समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको उपासना गर्छन् ।
पुराना मनमुटाव बिर्सेर सामूहिक रूपमा पर्व मनाउने परम्पराले सामाजिक सद्भाव र एकताको सन्देश दिने गरेको छ ।
धनी–गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र भक्तिका साथ पर्व मनाउने तयारी गरेका छन् । सूर्यदेव र छठीमाताको आराधनाले सुख, शान्ति र कल्याण प्राप्त हुने जनविश्वास रहिआएको छ ।
.gif)

.png)




