एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रनेछ । प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले ६ खेलबाट ४ जित, एक हार र एक खेल रद्द हुँदा प्राप्त बराबरी अंक जोडेको छ ।
लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । काठमाडौं गोर्खाजसँग भने टोली पराजित भएको थियो । चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।
यता, अंक तालिकाको पाँचौं स्थानमा रहेको विराटनगरका लागि प्लेअफ यात्रा बलियो बनाउन आजको खेल जित्नैपर्ने दबाब छ । टोलीले अहिलेसम्म खेलेका ६ खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको छ ।
विराटनगरले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई हराएको छ भने काठमाडौं गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको छ ।
लुम्बिनी शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा विराटनगर प्लेअफ सम्भावना बलियो बनाउने योजनामा हुनेछ । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।
.gif)

.png)




