चितवनलाई २४ रनले हराउँदै कर्णालीले टुंग्यायो एनपीएल यात्रा
काठमाडौं : हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।
यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिताको यात्रा टुंग्याएको हो । सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित भएको थियो ।
यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवनले भने लिग चरण चौथो स्थानमा रहेर टुंग्याएको छ । सात खेलबाट सात अंक जोडेको चितवनले अब एलिमिनेटर खेल्नेछ ।
कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । कर्णालीका हुसेन तलतले ब्याटिङमा अर्धशतक बनाउनुका साथै बलिङमा तीन विकेट लिए ।

चितवनका लागि एनपीएलमा डेब्यु गरेका उसामा मिरले अविजित २८ रन बनाए । उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ओपनर कमिल मिशाराले १७ बलमा दुई चौका र दुई छक्कासहित २५ रन जोडे । देव खनालले १४ रन बनाए ।
कमिल र देवले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे पनि त्यसपछि चितवनले ठूलो साझेदारी गर्न सकेन । कप्तान सिकन्दर राजा दुई, विवेक यादव छ र डान मोस्ली आठ रनमा आउट भए । चितवनले ६४ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो ।
कुशल मल्लले १८ र सलाउद्दिन खानले सात रन बनाए । यस सिजन पहिलो खेल खेलेका अशोक धामीले ११ रन जोडे । कमल सिंह ऐरी र रिजन ढकाल समान एक रनमा आउट भए ।
बलिङमा कर्णालीका तलतले ३.१ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । मार्क वाट र पवन सर्राफले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

कर्णालीका लागि तलतले ३३ बलमा दुई चौका र एक छक्कासहित अविजित ५१ रन बनाए । ओपनर अरिफुल इस्लामले १५ बलमा चार चौका र दुई छक्कासहित ३५ रन जोडे । पवन सर्राफले १५ तथा गुल्सन झाले ६ बलमा एक चौका र दुई छक्कासहित आक्रामक १८ रन बनाए ।
यस सिजन पहिलो खेल खेलेका चसिन शर्मा खाता नखोली आउट भए । दीपक डुम्रेले सात, कप्तान डेभिड मिलरले पाँच, सोमपाल कामीले चार र मार्क वाटले छ रन बनाए । नन्दन यादव दुई रनमा अविजित रहे ।
बलिङमा चितवनका कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले दुई–दुई विकेट लिए । रिजन ढकाल र कप्तान सिकन्दर राजाले एक–एक विकेट लिए ।
.gif)

.png)




