वित्तीय अपराध अनुसन्धानमा सबै निकायबीच समन्वय आवश्यक : आईजीपी केसी
काठमाडौं : प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउन नेपाल प्रहरीको एकल प्रयास पर्याप्त नहुने भन्दै सबै सरोकारवाला निकायबीच परिणाममुखी समन्वय आवश्यक रहेको बताएका छन् ।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण संकलनदेखि फैसलासम्म’ विषयक कार्यशालामा उनले नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकबीच सूचना आदानप्रदान तथा प्रमाण संकलनमा सहकार्य हुनुपर्ने बताए ।
(1).jpeg)
बैंकिङ कसुर, वित्तीय ठगी, सहकारी तथा लगानीसम्बन्धी अनियमितता, अनलाइन आर्थिक अपराध र सम्पत्ति शुद्धीकरणका घटना जटिल बन्दै गएको उल्लेख गर्दै उनले डिजिटल प्रमाण संकलन, आधुनिक प्रविधि र विशेषज्ञ जनशक्तिको विकासमा जोड दिए ।
सीमापार वित्तीय अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य र पारस्परिक कानुनी सहायता प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा केसीले अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–३’ पुस्तक विमोचन गरे ।
उनले अनुसन्धानका अनुभव, चुनौती र सफलतालाई अभिलेखीकरण गरिएको पुस्तक नयाँ पुस्ताका अनुसन्धानकर्ताका लागि उपयोगी हुने बताए ।
.jpeg)
कार्यशालामा महान्यायाधिवक्ताको कार्यालय, नेपाल राष्ट्र बैंक, प्रहरीको साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीहरूले वित्तीय अपराधको अवस्था, डिजिटल प्रमाण संकलन, अभियोजन तथा सम्पत्ति खोजीका चुनौतीबारे प्रस्तुति दिएका थिए ।
यसै अवसरमा अपराध अनुसन्धान विभागको विशिष्टीकरण र प्रविधिमैत्री अनुसन्धान प्रणालीबारे पूर्व विभागीय प्रमुख तथा कार्यरत प्रहरी अधिकृतबीच छुट्टै अन्तरक्रिया पनि भएको थियो ।
.gif)

.png)




