भारत भ्रमणमा प्रधानमन्त्रीसँग सचिवालयका ८ जना
३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल र ५२ सदस्यीय निजी क्षेत्रको टोली
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफ्नो पहिलो भारत भ्रमणमा सचिवालयका सीमित सदस्यलाई मात्रै सहभागी गराउने भएका छन् । २६ सदस्यीय प्रधानमन्त्रीको सचिवालयबाट प्रधानमन्त्रीसहित आठ जना मात्रै भारत जाने भएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार अशिम शाह, आईटी सल्लाहकार विवेक मिश्र, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्य र सल्लाहकार सुवास शर्मा सहभागी हुनेछन् ।
सचिवालयका सबै सदस्यलाई भ्रमण टोलीमा समावेश नगरी आवश्यक जिम्मेवारी र भूमिकाका आधारमा सीमित सदस्य मात्रै लैजाने निर्णय गरिएको हो । प्रधानमन्त्रीको सञ्चार, राजनीतिक समन्वय, निजी सचिवालय र प्राविधिक कामसँग सम्बन्धित प्रतिनिधिलाई प्राथमिकतामा राखिएको देखिन्छ ।
तर सचिवालयको टोली सानो भए पनि समग्र सरकारी प्रतिनिधिमण्डल भने ३४ सदस्यीय हुनेछ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।
त्यसैगरी निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भारत जानेछन् । उनीहरूले नयाँदिल्लीमा आयोजना हुने व्यवसायिक सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते (नोभेम्बर २२ र २३) भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा शाहले भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार द्विपक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले समेत प्रधानमन्त्री शाहसँग भेट गर्नेछन् ।
नेपाल र भारतबीच आर्थिक सहयोग, व्यापार, ऊर्जा, पूर्वाधार विकास तथा हवाई सम्पर्क विस्तारका विषय भ्रमणका प्रमुख एजेन्डा रहने अपेक्षा गरिएको छ । विशेषगरी नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेश मार्ग, आर्थिक सहयोग प्याकेज तथा भारतीय सहयोगमा सञ्चालित विकास आयोजनाबारे छलफल हुने बताइएको छ ।
भ्रमणका क्रममा केही समझदारीपत्रमा हस्ताक्षर, नयाँ विकास आयोजनाको शिलान्यास तथा सम्पन्न आयोजनाको उद्घाटन गर्ने तयारी छ । जनकपुर–अयोध्या रेल सम्पर्क, पनौतीमा निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठान, दार्चुलाको पुल तथा भैरहवाको एकीकृत जाँच चौकी भ्रमणका क्रममा चर्चामा रहेका आयोजनामध्ये छन् । प्रधानमन्त्री शाह मंसिर ७ गते भ्रमण सम्पन्न गरी स्वदेश फर्कने कार्यक्रम छ ।
.gif)

.png)




