बालेनको स्वागतमा दिल्ली तयार, सडककाे पोल-पोलमा फहराइयो नेपाल-भारतको झण्डा


२०८३ मङ्सिर ५ शनिबार १९:४२ बजे

नयाँ दिल्ली :  प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा विशेष तयारी गरिएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि राष्ट्रपति भवनअगाडिको सडकमा नेपाल र भारतका राष्ट्रिय झण्डा सजाइएको छ ।

प्रधानमन्त्री शाह आइतबार भारत भ्रमणमा जाने कार्यक्रम छ । उनी नयाँ दिल्ली पुग्नुअघि नै राष्ट्रपति भवन आसपासका सडकका पोलमा दुवै देशका राष्ट्रिय झण्डा राखिएका हुन् । यसले प्रधानमन्त्री शाहको भ्रमणका लागि भारतले गरेको स्वागत तयारीलाई झल्काएको छ ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा नयाँ दिल्ली पुग्नेछन् । दिल्ली पुगेपछि उनले सोही दिन साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । होटल ताजमहलमा हुने उक्त भेटवार्तासँगै उनको औपचारिक भारत भ्रमणका कार्यक्रम सुरु हुनेछन् ।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम रहेको छ । त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

लगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्तापछि मध्यान्ह १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी अपराह्न ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट नेपाल फर्कने कार्यक्रम छ । प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता र दुई देशबीच हुने सहमति तथा सम्झौताले विशेष महत्त्व राख्ने अपेक्षा गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७