भ्रष्टाचार अन्त्य गर्न सबै पक्षको सहकार्य आवश्यक : सभामुख अर्याल


२०८३ मङ्सिर ६ आइतबार १७:३३ बजे
तस्बिर : नेपाल फोटो सर्भिस

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितता अन्त्य गर्दै सुशासन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै सभामुख अर्यालले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, पारदर्शिता तथा जवाफदेहिताका साथ काम गर्नुपर्ने बताए ।

सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र जनभावनाअनुसार कानुन निर्माण गर्ने कार्यमा सबैको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

जेनजी विद्रोहपछि नेपाली राजनीतिमा महत्त्वपूर्ण परिवर्तन आएको उल्लेख गर्दै उनले युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए ।

राज्यसँग उपलब्ध साधनस्रोत सीमित भए पनि तिनको पारदर्शी र प्रभावकारी परिचालन गर्न सके विकास तथा समृद्धिको यात्रालाई गति दिन सकिने उनले धारणा राखे ।

सभामुख अर्यालले साहित्यकारहरूले समाजमा रहेका विकृति, विसङ्गति र समस्यामाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास तथा असल अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

साहित्यले समाजका समस्या, नागरिकका भावना र यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले साहित्य तथा साहित्यकारप्रति आफ्नो उच्च सम्मान रहेको उनले बताए ।

व्यवस्थापिकाको नेतृत्वकर्ताका रूपमा जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनु आफ्नो प्रमुख दायित्व रहेको उल्लेख गर्दै अर्यालले नीति निर्माता तथा जनप्रतिनिधिहरूले समाजका वास्तविक समस्या र नागरिकका पीडा बुझ्न साहित्यको अध्ययन गर्नुपर्ने बताए ।

प्रथम पुरस्कार चेतनाथ आचार्यको कथालाई

यसैबीच, बाह्रखरी मिडियाद्वारा आयोजित आठौँ संस्करणको ‘डिसहोम बाह्रखरी कथा प्रतियोगिता, २०८३’ मा चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथा प्रथम भएको छ । प्रथम भएका आचार्यले दुई लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा मधुर भट्टराईको ‘सपनाको अर्को रङ्ग’ दोस्रो र सरस्वती सरसको ‘अस्तित्वको अल्गोरिदम’ तेस्रो भएका छन् । कथा लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले बाह्रखरी मिडियाले विगत आठ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सोही अवसरमा प्रतियोगिताको आठौँ संस्करणमा छनोट भएका उत्कृष्ट २५ कथाको सङ्ग्रह ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ विमोचन गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७