वामपन्थीबीच एकता नभए चुनावी सहकार्य गर्नुपर्छ : वर्षमान पुन
चितवन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले पुँजीवादी व्यवस्था संकटमा परेको र विश्वभर कम्युनिस्ट, वामपन्थी तथा समाजवादी विचारप्रति आकर्षण बढ्दै गएको बताएका छन् ।
चितवनको भरतपुरमा आइतबार आयोजित ‘मार्क्सवादी ज्ञान केन्द्र’को छैटौँ साधारण सभा तथा अन्तरक्रियामा बोल्दै पुनले अमेरिका र युरोपका जनतासमेत कम्युनिस्ट विचारधाराप्रति आकर्षित हुन थालेको दाबी गरे । उनले विश्व राजनीति एकध्रुवीय व्यवस्थाबाट बहुध्रुवीयतातर्फ अघि बढिरहेको र पुँजीवादी व्यवस्थाले अहिलेका संकट समाधान गर्न नसकेको बताए ।
पुनले नेपालका कम्युनिस्ट पार्टीहरू बदलिएको समाज र वर्ग संरचनाअनुसार आफूलाई रूपान्तरण गर्न नसक्दा जनमत कमजोर भएको स्वीकार गरे ।
कुनै समय दुई तिहाइ बहुमतसम्म पुगेको कम्युनिस्ट जनमत अहिले १५–१६ प्रतिशतमा खुम्चिनुमा आफ्नै कमजोरी जिम्मेवार रहेको उनको विश्लेषण थियो ।
‘हामीले आफूलाई अपग्रेड गर्न सकेनौँ, आफूलाई अपडेट गर्न सकेनौँ, मार्क्सवादलाई विकास गर्न सकेनौँ भन्ने कुरा हामी स्वीकार्नुपर्छ,’ उनले भने ।
उनले कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच एकता वा कम्तीमा चुनावी कार्यगत एकता गर्नुपर्नेमा जोड दिए । ‘सकिन्छ एकता, सकिँदैन कम्तीमा चुनावमा कार्यगत एकता गरेर जानुपर्छ,’ पुनले भने ।
उनका अनुसार सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणका कारण नेपाली समाजको वर्ग संरचना बदलिएको छ । तर, मध्यम वर्गको बदलिएको चाहना र आकांक्षा सम्बोधन गर्न कम्युनिस्ट पार्टीहरू असफल भएका छन् ।
पुनले कम्युनिस्ट आन्दोलन पुनर्गठनका लागि नेतृत्व चयन, आन्तरिक लोकतन्त्र र संगठन सञ्चालन पद्धतिमा सुधार आवश्यक रहेको बताए ।
फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा माओवादी, एमाले, कांग्रेस र मधेसकेन्द्रित दलको पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताको जमघट रहेको टिप्पणी गरे ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले महँगी वृद्धिदर झन्डै सात प्रतिशत पुगेको उल्लेख गर्दै जनताको दैनिक जीवनसँग जोडिएका मुद्दामा राजनीतिक दलहरूले आवाज उठाउनुपर्ने बताए ।
.gif)

.png)




