डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिकिँदैन : वर्षमान पुन
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले डर, त्रास र धम्कीका भरमा लामो समय शासनमा टिक्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारलाई चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता परिवर्तन भइरहने भन्दै वर्तमान सरकारलाई आफू सधैँ सत्तामा रहने भ्रममा नपर्न आग्रह गरे। ‘सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नुस्,’ उनले भने, ‘अरुका कुरामा विश्वास लाग्दैन भने तपाईंको कार्यालयको भित्तामा झुण्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूका तस्बिर एकपटक हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ।’
नेता पुनले गत भदौ २३ र २४ गते भएका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए। उनले जेनजी पुस्ताले उठाएका प्रश्नको समाधान अझै नभएको भन्दै आन्दोलनलाई केवल एउटा घटनाका रूपमा समाप्त गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराए। उनका अनुसार भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासन तथा छिटोछरितो र भेदभावरहित सार्वजनिक सेवा प्रवाहको माग गर्दै युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। तर, आन्दोलन कसरी माइतीघरबाट बानेश्वरतर्फ मोडियो र १९ जनाको ज्यान जाने गरी गोली चल्यो भन्ने विषयको जवाफ खोजिनुपर्ने उनको भनाइ छ।
त्यसैगरी भदौ २४ गते राष्ट्रपति कार्यालय, सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, प्रदेश तथा स्थानीय तहका कार्यालय, राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा भएको आगजनी, लुटपाट र तोडफोडलाई उनले अक्षम्य अपराधको संज्ञा दिए। पुनले दोषीलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्ने तर राजनीतिक आस्था, दल वा समूहसँगको आबद्धता तथा सामाजिक पहिचानका आधारमा निर्दोष व्यक्तिलाई अपराधी बनाउन नहुने बताए। ‘दोषीलाई नछोड्नुहोस्, तर निर्दोषलाई पनि नफसाउनुहोस्। यही नै कानुनको शासन हो,’ उनले भने।
भदौ २३ र २४ गतेका घटनामा राज्यका संयन्त्र कहाँ थिए भन्ने प्रश्नसमेत उनले उठाए। हिंसाको पूर्वसूचना थियो कि थिएन, सूचना भए सुरक्षा तयारी किन प्रभावकारी भएन र सार्वजनिक संरचना तथा नागरिकको निजी सम्पत्ति किन जोगाउन सकिएन भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने उनको माग छ। पुनले जेनजी पुस्ताका रोजगारी, अवसर, पारदर्शिता, जवाफदेहिता र सुरक्षित भविष्यका मागलाई बेवास्ता गरे असन्तुष्टि फेरि अर्को रूपमा प्रकट हुन सक्ने चेतावनी दिए।
उनले जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा सरकार पक्षधरबाट घाइते युवामाथि भएको कुटपिट तथा दुर्व्यवहारसमेत निन्दनीय भएको बताए। युवाको आवाज सुन्नुको सट्टा उनीहरूलाई अपराधीको आँखाले हेर्न नहुने उनको भनाइ छ। यसैगरी पुनले सरकारको आर्थिक तथा दैनिक उपभोगसँग जोडिएका विषयमा समेत आलोचना गरे। किसानले समयमा मल नपाएको, अहिले खाना पकाउने ग्यासको चरम अभाव रहेको, बजारमा महँगी बढेको र दैनिक उपभोग्य वस्तुको मूल्यले कीर्तिमान कायम गर्दा पनि सरकारले प्रभावकारी बजार अनुगमन नगरेको उनले आरोप लगाए।
उनले निजी क्षेत्रको मनोबल कमजोर हुँदै गएको भन्दै सरकारका जिम्मेवार मन्त्रीहरूबाट निजी क्षेत्रलाई तर्साउने र धम्काउने अभिव्यक्ति आउनु गलत भएको बताए। पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले निजी क्षेत्रसँग सहकार्य गरेर मात्रै अर्थतन्त्रलाई अघि बढाउन सकिने भन्दै सरकारलाई त्रासको वातावरण अन्त्य गर्न आग्रह गरे। उनले सप्तरीमा पैसा अभावका कारण संघीय सरकारअन्तर्गतको अस्पतालले उपचार नगर्दा सडकपेटीमै शिशु जन्माउनुपरेको घटनालाई पनि सरकारको क्षमता र नियतमाथिको प्रश्नका रूपमा प्रस्तुत गरे।
.gif)

.png)

