लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जित्न साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले तीन वटा महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए । उनले दोस्रो विकेटका लागि डार्सी सर्टसँग ३०, तेस्रो विकेटका लागि निरोशन डिकवेलासँग ३९ र चौथो विकेटका लागि दिलीप नाथसँग ३४ रनको साझेदारी गरे ।
कप्तान रोहितले ३१ बलमा २ चौकासहित ३० रन बनाए । उनी रनआउट भए । डार्सी सर्टले १८ बलमा ४ चौकासहित २१ रन बनाए । उनी दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए ।
निरोशन डिकवेलाले २८ रन बनाए । उनी थरिन्दु रत्नायकेको बलमा बोल्ड भए । सन्दीप जोराले ४ र आसिफ शेखले १ रन मात्रै बनाउन सके ।
दिलीप नाथले अविजित ३९ रन बनाए । उनले ३१ बलमा ३ छक्का प्रहार गरे । अली शेखले १२ बलमा २ चौका र २ छक्कासहित २४ रनको योगदान दिए । रुवेन ट्रम्पलमेन ४ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ विकेट लिए । हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
लगातार तेस्रो पटक एनपीएलको फाइनल खेलिरहेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ । साविक विजेता लुम्बिनी भने लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा छ । अब सुदूरपश्चिमले उपाधि उचाल्न १५६ रन बनाउनुपर्नेछ ।
.gif)

.png)




