फ्लाई दुबईको जहाजमा के भएको थियो ?


२०८० बैशाख १२ मंगलबार ०७:०५ बजे

सिबी अधिकारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा खराबी देखियो । विमानस्थलबाट उडान भरे लगत्तै उक्त जहाजको इन्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो ।

विमान चालक (पाइलट) ले धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट जहाज ‘होल्ड’ गरेर इन्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिंगल इन्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो । त्यतिञ्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए ।

टावरका एटीसीले पाइलटसँग निरन्तर ‘कम्युनिकेसन’ गरिरहेका थिए । पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्यमा जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म विमानस्थमा अरू जहाजको उडान रोकेर अवतरणको तयार गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्यान्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् ।

दमकलसहित भेहिकल, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखियो । पाइलटले जहाज गन्तव्यमा पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलायो । काठमाडौंमा किन जहाज अवतरण गरिएन ? भनी सोधिएको जिज्ञासामा प्राधिकरणका सहायक प्रवक्ता भुलले जहाजको सबै पार्टपुर्जा जाँच गर्दा ठिक रहेको र गन्तव्यमा पुग्छ भन्ने पाइलटले निर्णय लिएपछि त्यतातिर लागेको बताए । उनले भने, ‘पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा जहाज दर्ता भएकाले उतै अवतरण गर्ने निर्णय भएको हुनसक्छ । दुवै देशमा उडान गर्ने जहाज हो । समस्या आएन भने दुबईमा नै जहाज अवतरण हुन्छ ।’

यस्तो किसिमको घटनामा जहाज काठमाडौंमा अवतरण गर्न सहज हुन्छ ? भन्ने थप जिज्ञासामा सहायक प्रवक्ता भुलले त्यस किसिमको सबै क्षमता विमानस्थलमा रहेको र कथमकदाचित जहाज अवतरण गर्नुपरेको भए विमानस्थलमा अवतरण गर्न सकिने उनले बताए । ‘…जहाजको इन्जिनको कम्प्रेसर स्टल भएर ठूलो आवाज आएको हो कि भन्ने आशंका गरिएको छ । यसको विस्तृत जानकारी आएको छैन’, सहायक प्रवक्ता भुलले भने ।

नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर, दुबईमै अवतरण भएकाले त्यहाँको सिभिल एभिएसन अथोरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ ।

जहाजमा आगो लागेको इन्जिन बन्द गरिन्छ । सिंगल इन्जिनमा जहाज उड्छ । तर, गति कम हुन्छ । गन्तव्यमा पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिए । विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट)सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७