दिनभर खोज्दा पनि भेटिएनन् यात्रुसहित त्रिशूलीमा खसेका दुईटा बस, सुरक्षा समितिको वैठक बस्दै


२०८१ असार २८ शुक्रबार ०४:०५ बजे

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गएको पहिरोमा परी  यात्रुसहित त्रिशूली नदीमा खसेका दुईटा बसको अवस्था अज्ञात छ । सडकमा गुडिरहेको यात्रुबाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ । आज दिनभर खोजी गर्दा पनि बस फेला पार्न नसकिएको नेपाल प्रहरीको बागमती प्रदेशका प्रमुख डीआईजी विष्णु केसीले जानकारी दिए । 

नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् । एन्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा शुक्रवार बिहान सो बस घटनामा परेको केसीको भनाइ छ । 

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको खुलेको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको पाइएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरीको ठूलो टोली परिचालन गरिएको थियो । 

गणपति डिलक्समा चालक दलका सदस्यसहित ३१ जना यात्रु सवार रहेको बताइएको छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् । उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता ।

दुई वटा बस त्रिशूलीमा खस्दा कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । आज (शुक्रबार) साँझ ६ बजेसम्म खोज्दा पनि बसहरू नभेटिएपछि आजको लागि खोजी कार्य स्थगित भएको हो । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, भोेलि बिहानबाट कसरी खोजीमा जाने भन्नेबारे आजै बेलुकी सुरक्षा निकायको बैठक बसेर छलफल हुनेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७