कांग्रेस बैठकमा शशांकले भने–शेखर, राजेन्द्र र सुनीललाई स्पष्टीकरण सोध्नै पर्छ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने पार्टीका तीन नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा उनले डा. शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्नुको विकल्प नभएको बताएका हुन्।
‘नेताहरूलाई बोलाउनुस्, समाधान निकाल्नुस् र उहाँहरूलाई के–के कुरा भएको हो सोध्नुस्,’ उनले भने, ‘शेखर, सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुस् भनेर प्रस्ताव गरें । सभापति (सभापति शेरबहादुर देउवा) ले केही भन्नु भएन । हेर्छु मात्रै भन्नु भयो । मलाई लाग्छ, यो गर्नैपर्छ । उपाय छैन । एक आपसमा मुुठभेड गरेर कसको फाइदा हुन्छ पार्टीमा ? त्यसैले उहाँलाई स्पष्टीकरण माग्नुस् भनेका हौं ।’
आजको बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकका निकटस्थ उच्च अधिकारी एवं सचिवालय सदस्यहरू संलग्न रहेको आरोप लागेको छ । यसै विषयलाई लिएर पार्टीभित्रका केही नेता र अन्य प्रतिपक्षी दलका नेताहरूले उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरिरहेका छन् ।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यसमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहितका कर्मचारी अनुसन्धानमा छन् । पछिल्लो समय शेखरसहित इतर पक्षका नेताहरूले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आइरहेका छन् । भिजिट भिसा प्रकरणमा पनि उनीहरूले प्रश्न उठेपछि गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने बताएका थिए । तर, आज पार्टी पदाधिकारीको बैठक अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ ।