विपदको असर व्यापारीलाई : दशैंले छोइसक्यो, छैन व्यापार


१८:५३ बजे

काठमाडौं । ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको संख्या भने पातलो छ । दशैं र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यस पटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ ।  उनी भन्छन्, ‘दुई-चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपालि व्यापार कम छ ।’

पर्वको मुखैमा प्राकृतिक विपतको असर बजारमा देखिएको उनको भनाइ छ ।  यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उनको झिनो आशा छ । दशैंमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्वपूर्ण लाग्छ । चिसो मौसम सुरु भएकाले दशैंमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन् । ‘आफ्नो भन्दा छोराछोरीलाई दशैंमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ’, उनले भनिन् ।

ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यसपालि मुल घर सर्लाही नजाने बताए । बाढी पहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए । ‘काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौं’, उनले भने, ‘किनमेल पनि भर्खरै सुुरु हुँदैछ ।’ उनले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताए । पर्वमा भारी छुट पाउने हुँदा उनलाई आवश्यक सामग्री किन मनपर्ने सुनाए ।

काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दशैंमा किनमेलमा खासै जोड नदिएको बताइन् । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दशैं टार्ने योजना रहेको सुनाइन् । गाँउ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालिको दशैं मनाउने जाँगर चलेको छैन । दशैं पनि काठमाडौँमै मनाउने योजना रहेको  सुनाइन् ।

‘आफन्ती सबै दुःखमा छन्, दशैं मनाउनु कसरी ?’, उनले भनिन् । भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ । ‘मान्छेहरुको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७