हेटौंडा–काठमाडौं जोड्ने दुवै वैकल्पिक सडक नौं दिनपछि खुले
काठमाडौं । दुई दिनको अविरल बर्षापछिको बाढी–पहिरोले नौं दिनदेखि अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीका दुवै वैकल्पिक सडक खुलेका छन् । आज (आइतबार) साँझ ६ बजेदेखि हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ र हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पुनः सञ्चालनमा आएका हुन् ।
सडक खुलाउन वागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, प्रहरी प्रशासन र स्थानीय र जनप्रतिनिधिहरु खटेका थिए । एक साताको अथक प्रयासपछि वैकल्पिक सडक खुलाउन सफल भएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक पुष्करराज पोखरेलले बताए ।
कुलेखानी ड्याममुनिको पुलको दुवैतर्फको पहुँचमार्ग बाढीले बगाएर गहिरो बनाएकाले उक्त स्थानमा डाइभर्सन बनाएर हेटौंडा–काठमाडौं जोड्ने दुवै वैकल्पिक सडक एकैचोटी खुलाइएको हो । दुवै वैकल्पिक मोटरबाटो असोज ११ र १२ गतेको बाढी, पहिरोले क्षति पुर्याएको थियो ।