साम्बा नहुँदा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो


२०८१ कार्तिक २ शुक्रबार २२:०९ बजे

काठमाडौं । नेपालले पहिलोपल्ट साफ महिला च्याम्पियनसिपमा भुटानसँग अंक बाँडेको छ । घरेलु मैदान दशरथ रंगशाला आज (शुक्रबार) खेलमा गोलरहित बराबरी रोकिएसँगै नेपालले पहिलोपल्ट साफ इतिहासमा भुटानमा अंक बाँडेको हो ।

नेपाली महिला टोलीले पहिलोपल्ट भुटानविरूद्ध गोल गर्न सकेन । चार टोली रहेको समूह बी को खेलमा भुटानले घरेलु टोलीमाथि दबाब बनाउँदै अंक लिन सफल भयो । नेपालले धेरै आक्रमण बुने पनि अग्रपंक्तिले सफलता पाउन सकेन । भुटानकी गोलकिपर संगीता मोंगेरले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको चुनौती समाप्त पारिन् । उनी प्लेयर अफ दी म्याच पनि भइन् ।

त्यसअघि १३ औं मिनेटमा नेपालको पहिलो प्रहार भुटानकी गोलकिपर संगीता मोंगेरले असफल बनाइन् । रश्मिकुमारी घिसिङले करिव १२ यार्डबाट गरेको प्रहार संगीताले पन्च गर्दै बचाउ गरिन् । रश्मिले २३औं मिनेटमा पनि अर्को अवसर खेर फालिन् । पेनाल्टी बक्सबाट उनले फितलो प्रहार गरिन् । तीन मिनेटपछि नै सरूले लिम्बूले गोल गर्ने अवसर गुमाइन् । ५२औं मिनेटमा नेपालको गोल प्रयास विफल भयो ।

रेखा पौडेलको प्रहार भूटानकी गोलकिपर संगीता रोके पनि गोलतर्फ अग्रसर भएको थियो । तर भूटानकी डिफेन्डर ज्याम्यंग छोडेनले क्लियर गरिदिइन् । ५८ औं मिनेटमा सविता रानामगरले पेनाल्टी बक्सबाहिरबाट गरेको महत्वाकांक्षी सट भुटानकी गोलकिपर संगीताका लागि चुनौती बन्न सकेन । एक मिनेटलगत्तै रेखा पौडेलले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकिनन् ।

करिव आठ यार्डबाट रेखाको प्रहार गोलकिपरको हातमै पुग्यो । ८४ औं मिनेटमा सविता रानामगरको वान भर्सेस वानको प्रहार भूटानकी गोलकिपर संगीताले बचाउँंदै संकट टारिन् । अतिरिक्त मिनेटमा अमिसा कार्कीले नेपालको पहिलो गोल गर्ने अवसर गुमाइन् । सविता रानामगरले अन्तिम समयमा गरेको प्रहार पहिलो बारमा लागेर बाहिरियो । त्यससँगै नेपाली महिला टोलीले पहिलोपल्ट भुटानसँग अंक बाँड्न बाध्य भयो । नेपाली गोल मेशिन सावित्रा भण्डारी (साम्बा) नहुँदा नेपाललाई गोल गर्नै संघर्ष भयो । आजको खेलमा मैदानमा सावित्राको अभाव प्रष्ट देखिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७