मनाङे मोवाइल अफ गरेर ‘बेपत्ता’, यस्तो छ प्रहरीको पक्राउको तयारी


२२:२५ बजे

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गर्दै सजाय तोके लगतै गण्डकी प्रदेश सभाका सांसद राजीब गुरूङ ‘दीपक मनाङे’ फरार भएका छन् । फैसला आएको दिन काठमाडौंमै रहेको जानकारी दिंदै मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले त्यसपछि भने आफ्नो पनि कुराकानी नभएको बताएका छन् । 

‘फैसला भएको दिन उहाँ काठमाडौंमै हुनुहुन्थ्यो । त्यसपछि मेरो पनि कुराकानी भएको छैन, अहिले मोबाइल अफ छ’, स्वकीय सचिव अधिकारीले भने । सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) को फैसलालाई सदर गर्दै मनाङेलाई चक्रे मिलन भनिने मिलन गुरूङको हात छिनालिने गरी तरबारले आक्रमण गरेको घटनामा दोषी ठहर गरेको हो ।

दोषी ठहर गरे पनि मंगलबार नै सर्वोच्च अदालतले संक्षिप्त फैसला तयार भने गरेको थिएन । फैसला संक्षिप्तमा आउने हो वा पूर्णपाठ नै आउने हो भन्ने अझै यकिन भएको छैन ।  प्रहरीले पनि सर्वोच्च अदालतको फैसलालाई कुरिरहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं डिआइजी दानबहादुर कार्कीले बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंसहित विभिन्न निकायको प्रहरीले उनको खोजी भने थालिसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मनाङेले चलाउँदै आएका सबै नम्बर अफ गरेर बसेको भए पनि प्रहरीले उनलाई ‘लोकेट’ गर्ने प्रयास गरिरहेको स्रोत बताउँछ । केन्द्रीय प्रहरीको निर्देशन बमोजिम अहिले मनाङे पक्राउका निम्ति तीन युनिट सक्रिय भएका छन् । हाल फरार रहेका मनाङेलाई उच्च अदालतले पाँच वर्षको जेल सजाय तोकेको थियो । तर उनले त्यसको आधा सजाय काटिसकेका छन् । यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन् । अब त्यो अवधि घटाएर बाँकी समय उनी जेल बस्नुपर्ने हुन्छ । अब पाँच वर्षमा २ वर्ष ८ महिना घटाउँदा आउने दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्छ ।

२०६१ वैशाख ३१ गते ‘चक्रे’ मिलन गुरूङ आफ्ना साथीहरू जी शेर्पा, यादव डंगोल, विनय शाक्यसँग महाराजगंजमा रहेको चुफाङ रेष्टुरेन्टमा खाना खाँदै थिए । त्यसबेलामा दीपक मनाङेसहित केही व्यक्तिहरूले उनीमाथि धारिलो हतियार प्रहार गरेका थिए । मनाङेलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो । मनाङेले तरबार प्रहार गर्दा चक्रे मिलनको बायाँ हात छिनालिएको थियो । पछि उनको हात जोडियो । घटनामा मनाङेसहितलाई विपक्षी बनाएर चक्रेकी श्रीमती इन्दिरा गुरूङले प्रहरीमा जाहेरी दिएकी थिइन् । 

मनाङेले भने आफू २०६१ साल वैशाख २७ गते काठमाडौंबाट वीरगन्ज गएको प्रहरी र अदालतसमक्ष बताएका थिए । त्यहीं आफू करिब एक महिना बसेर जेठ २१ गते काठमाडौं पुगेको बयानमा उल्लेख छ । काठमाडौं जिल्ला अदालतले उनको दाबी नपुग्ने भन्दै २ वर्ष कैद सजाय ठहर गरेको थियो । २०६३ साल माघ ७ गते जिल्ला अदालतबाट फैसला आउँदा उनी २२ महिना जेल बसिसकेका थिए । २०६३ साल चैत १८ गते दुई वर्ष कैद भुक्तान गरी छुटे ।

जिल्ला अदालतको फैसलाविरूद्ध पुनरावेदन अदालत पाटन (अहिले उच्च अदालत) मा पुनरावेदन परेको थियो। त्यस अदालतले २०६९ साउन २८ गते ज्यान मार्ने उद्योग कसुर ठहर गर्दै ५ वर्ष कैद हुने ठहर गरेको थियो । पुनरावेदन अदालतको आदेशपछि २०७५ वैशाख ६ गतेदेखि २०७५ पुस ६ गतेसम्म ८ महिना कैद भुक्तान गरेका थिए। बाँकी कैद नबसी पुनरावेदन गर्न २७ हजार ३७५ रुपैयाँ नगद जमानत राखेर मनाङेले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।

२०७१ मंसिर १७ मा पुनरावेदनको म्याद नाघेको भन्ने सूचना गोरखापत्रमा प्रकाशन भएको थियो । यसबीच २०७५ मा मनाङेले पुनरावेदन दिँदा जेठ १० गते दरपीठ भएको थियो । सो दरपीठमाथि निवेदन परी मंसिर २८ गते बसेको संयुक्त इजलासले गोरखापत्रमा प्रकाशित सूचना बदर गरेको थियो भने दरपीठको आदेश पनि बदर भएको थियो । अदालतले १० वर्षभन्दा कम सजाय भएको मुद्दामा अदालत बाहिरै बसेर पुनरावेदन गर्न पाउने सुविधा दिएसँगै सर्वोच्चमा मुद्दा चलिरहेको थियो । 

आत्मसमर्पणको तयारीमा छन् मनाङे ?
मनाङे अहिले ‘फरार’ छन् । अहिलेसम्म पनि सार्वजनिक सम्पर्कमा नरहेका उनलाई आत्मसमर्पण गर्नुपर्ने सुझाव उनी निकटस्थ कानुन व्यवसायीले दिएको स्रोत बताउँछ । शुरुदेखि नै यो मुद्दामा मनाङेको तर्फबाट संलग्न रहँदै आएका कानुन व्यवसायी गणेश केसीले आत्मसमर्पण गर्नु वा प्रहरीको गिरफ्तारी पर्खिनु बाहेक अर्को बाटो नभएको बताउँछन् ।मंगलबारको बहसमा मनाङेको तर्फबाट भाग लिएका अर्का कानुन व्यवसायी दीपकमणि निरौलाले उनी आत्मसमर्पणको मनस्थितिमा रहेको बताए । अधिवक्ता केसी मनाङेमाथि राजनीतिक प्रतिशोध समेत आकर्षित भएका कारण आफ्नै सुरक्षाका लागि पनि उनले आत्मसमर्पण गर्ने बताउँछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७