उपनिर्वाचनको बढ्यो सरगर्मी : कनकाई–६ मा उम्मेदवार चयन
झापा । आगामी मंसिर १६ गते कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सरगर्मी उक्त वडामा ह्वात्तै बढेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ ।
क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् ।
उपनिर्वाचनका लागि चम्पापुर माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ भने मतदानस्थलमा चम्पापुर (क) र चम्पापुर (ख) गरी दुई मतदान केन्द्र रहेका छन् । विसंं २०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
वडाध्यक्षमा नेकपा एमालेले उपाध्यक्ष तुलाराम बस्नेतलाई उम्मेदवार घोषणा गरेको छ भने नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओलीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ । यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गणेश थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका छन् ।