मोटरसाइकललाई ‘म्याजिक’ ले ठक्कर दिंदा श्रीमान–श्रीमतीकै मृत्यु
सुनसरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी–१६ बालग्राममा आइतबार मध्यान्ह मोटरसाइकललाई म्याजिक गाडीले ठक्कर दिंदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
को ३६ प ५६३७ नम्बरको मोटरसाइकलमा सवार संखुवासभा धर्मदेवी नगरपालिका–३ का ३२ वर्षे युवराज गुरुङ र सोही उमेरकी टीका गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । पूर्व आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट प्रदेश १–०२००१ ज नम्बरको म्याजिकले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए।
दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । सिसिटिभी फुटेजमा म्याजिकसँगै अर्को एउटा टिप्परले पनि ठक्कर दिएको देखिएकाले गर्दा त्यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले म्याजिक चालकलाई भने नियन्त्रणमा लिई सकेको छ ।