नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बोडियाको राजधानी नोमपेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आइपिटिपी) को ११औं पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान बुद्धको भूमि नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्वपूर्ण पाठ दिनसक्ने धारणा व्यक्त गरे ।
सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्राको ऐतिहासिक मोडका रूपमा प्रस्तुत गरे । ‘शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्ग प्रशस्त गरेको छ’, उनले भने । जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए ।
सभामुख घिमिरेले शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति हो भन्नेमा जोड दिए । समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उनले विश्वसामु प्रस्तुत गरे । सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनः दोहोर्याउँदै सबै राष्ट्रलाई सहकार्य र समझदारीबाट अघि बढ्न सभामुख घिमिरले आह्वान गरे । ‘शान्ति उपहार होइन; यो एउटा लक्ष्य हो’, उनले भने, ‘शान्तिको प्रवर्द्धनका लागि सामूहिक र सृजनशील प्रयास आवश्यक छ ।’ रासस