फिनल्याण्ड नेपालको जलविद्युत र फोहोरमैला व्यवस्थापनमा सहयोग गर्न इच्छुक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । मन्त्री ताभियोले नेपालको जलविद्युत, फोहोरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरु तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए । प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए ।
नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्षगाँठका अवसरमा मन्त्री ताभियोको नेपाल भ्रमण भएको हो । भेटका अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत ऋना ऋक्का हेइक्का, परराष्ट्र मन्त्रालयका सहचिव गणेश ढकाललगायत सहभागी थिए ।