प्रदेश सीमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्ने भएको छ। पहिलो चरणमा मधेस प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशविन्दु पूर्वपश्चिम राजमार्गको रातोमाटेमा ‘चेकपोस्ट’ निर्माण गर्ने भएको हो ।
शुक्रबार हेटौँडा–१४ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, सुरक्षा प्रमुखहरूले ‘चेकपोस्ट’ निर्माणस्थलको अनुगमन गरेका छन् । मुख्यमन्त्री लामाले स्थानीय तहसँग समन्वय गरेर ‘चेकपोस्ट’ निर्माण गरिने जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गको प्रवेशविन्दु भएका कारण पनि रातोमाटे नाका बढी संवेदनशील रहेका कारण पहिलो चरणमा रातोमाटेमा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । दोस्रो चरणमा चितवनको मुग्लिनमा, तेस्रोचरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा ‘चेकपोस्ट’ निर्माण गर्न लागेको बताइएको छ ।
‘चेकपोस्ट’मा सवारीसाधानको चेकिङका लागि अत्याधुनिक मेसिनसहित सीसी क्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने योजना प्रदेश सरकारको छ । ‘बागमती प्रदेशको प्रवेशविन्दुमा हामीले ‘चेकपोस्ट’ निर्माण गर्न लागेका हौँ । यसबाट आन्तरिक सुरक्षा अवस्था थप बलियो हुने अपेक्षा हामीले लिएका छौं’, मुख्यमन्त्री लामाले भने ।