नेपाल एयरलाइन्स व्यवस्थापन कमजोरीकै कारण घाटामा : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारेका छन् । प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने, ‘मेरो कुनै पनि विभागीय कर्मचारीहरुमाथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु ।’ उनले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको बताए । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि सरोकारवाला निकायले ध्यानदिनुपर्ने समेत उल्लेख गरे ।
उनले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे । मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरूमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनुपर्नेमा जोड दिए ।