रवि र छविसहित हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा पक्राउ परेका सात जनालाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासले आज (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।
रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्व डीआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस ८ गतेदेखि थुनछेकको प्रक्रिया अगाडि बढेको थियो ।
छविलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो । लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनीहरु दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो । छविलाई पक्राउ गरेपछि कास्की प्रहरीले अन्य प्रतिवादीहरुलाई पनि पक्राउ गरेको हो । तर प्रतिवादी बनाइएका मध्ये अधिकांश फरार छन् ।
आदेशका क्रममा सातै जना प्रतिवादीहरुलाई अदालतमा उपस्थित गराइएको थियो । उनीहरूको पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा चलाइएको छ ।