माथिल्लो ठूलोखोला ‘ए’ आयोजना निर्माण धमाधम 


२०८१ चैत ५ मंगलबार ०२:४६ बजे
फाइल फोटो

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सकिएको छ । 

ठूलोखोला हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना निर्माण सुरु गरेको दुई वर्षको अवधिमा बाँध, विद्युत गृह र पाइप लाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सकिएको ठूलोखोला हाइड्रोपावरका वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ ।

आयोजनाको पूर्वाधारतर्फको निर्माण कम्पनी देव ऊर्जा कन्ट्रक्सन प्रालिले दैनिक दुई सय  जनशक्ति परिचालन गरेर काम गरिरहेको छ । आयोजनाकम लागि आवश्यक पर्ने उपकरण ढुवानीको काम धमाधम भइरहेको छ । विद्युत गृहमा विद्युतीय उपकरण र सामग्री जडानको काम भइरहेको वित्त प्रमुख खतिवडाले बताए ।

सुरुङरहित यस आयोजनामा कुल दुई हजार आठ सय मिटर पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । सुगुरथलामाथि रघुगङ्गा नदीमा निर्माण भएको बाँधबाट पेनस्टक पाइप लाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत् गृहमा खसालेर उत्पादन हुने आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिए ।

उनका अनुसार उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्नका लागि ट्रान्समिसन लाइन निर्माणको कामसमेत धमाधम भइरहेको छ । तीन अर्ब लागत अनुमान गरिएको यस आयोजनामा प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी रहेको छ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ«े बैंकले लगानी गर्ने वित्तीय सम्झौता भएको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७