आरआर, त्रिचन्द्र र अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु निर्वाचन स्थगित भएको छ।सम्पूर्ण तयारी सकिएको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकूल अवस्था सिर्जना भएकाले निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ । सत्तारुढ एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो । निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिलका सम्बन्धित पदाधिकारीले विज्ञप्ति जारी गरेका छन् ।
यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन् । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी संगठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । त्रिविको विश्वविद्यालय क्याम्पसमा पनि आज मतदान हुने छैन ।
प्रक्रिया केही ढिलो सुरु भएकोले विश्वविद्यालय क्याम्पसमा ८ गते मतदानको मिति तोकिएको छ। त्रिचन्द्र बहुमुखी क्याम्पस र अमृत साइन्स क्याम्पसमा आज सम्पन्न हुने भनिएको स्ववियू निर्वाचन स्थगित भएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर पनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएका कारण निर्वाचनको माहोल नभएको निर्वाचन अधिकृत डा. अंगदमणि गौतमले बताए । प्रतिकूल परिस्थितिमा सबै उम्मेदवार प्रतिनिधिहरूसँगको छलफलपछि निर्वाचन स्थगित गरिएको उनले बताए ।