सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । सोमबारको तुलनामा आज १ हजार १०० रुपैयाँ बढेको हो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको हो ।